-->
एसएसबीले गोली चलाएपछि गाउँमा भागाभाग !

सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले गोली प्रहार गर्न थालेपछि गाउँमानै भागाभागको स्थिति सिर्जना भएको घाइते नरेश यादवले बताएका छन् ।
यादवले भने‘बिहान–६ बजे भैँसीलाई खेतमा पगा लगाएर फर्कंदै थिएँ । एसएसबीको पोसाक लगाएका दुईजना र सिभिल ड्रेसमा तीनजना हतियारधारी आए । उनीहरूको हाउभाउ राम्रो थिएन । म घरभित्र छिरेँ । त्यहीवेला बन्दुक पड्किएको आवाज सुनेर निस्किएको थिएँ, मलाई ताकेर गोली हाने । बालबाल बचेँ । ‘खाद मलवाला खोई’ भनेर बन्दुक तेस्र्याउँदै हामीलाई गाली गर्न थाले । हामीले ‘थाहा छैन’ भन्दै थियौँ उनीहरूमध्ये चारजनाले ताकेर गोली हाने र चुपचाप सीमातिर लागे । गोली चलेपछि गाउँमा भागाभाग भयो । मेरो नजिकै रहेका ३५ वर्षीय मनोजको खुट्टामा गोली लाग्यो । ३० वर्षीय सरोज यादवलाई तिघ्रा र हातमा छर्राले भेटेको छ ।’
स्थानीय शिवनारायण यादवले आफूहरू भागेर जोगिएको बताएका छन् । उनले भने ‘बिहान छिमेकीसँगै चिया पिइरहेका थियौँ । बाटोमै पसल थियो । एसएसबीहरू सीमाभन्दा दुई सय मिटर भित्र प्रवेश गरे । उनीहरूले हामीतिर ताकेर बन्दुक सोझ्याएपछि हामी भाग्यौँ । त्यसपछि गोली हाने, म त भाग्न सफल भएँ, अरू चारजनालाई गोली लाग्यो ।’
पाँच वर्ष पहिले पनि यस्तै घटना
पाँच वर्षअघि भारतीय सीमा सुरक्षा बलले तस्करीको निहुँमा मोरङको अमाही बरियाती– ७ खयरबोनामा गोली चलाउँदा ५५ वर्षीय वासुदेव साहको मृत्यु भएको खबर छ । साइकलमा खानेतेल ल्याउँदै गरेका व्यक्ति लखेट्दै आएका गरैया लैलोखर सीमा सुरक्षा बेसक्याम्पका एसएसबी इन्स्पेक्टर हितेन्द्र सिंह र एक हवल्दारले ११ जेठ ०६७ को राति फलैँचामा बसिरहेका साहलाई गोली हानेका थिए । घटनापछि भारतीय पक्षले मोरङ प्रशासनलाई साहको परिवारलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि हालसम्म दिएको छैन ।
नयाँ पत्रिका बाट


, , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.