नेविसंघकी नेतृ सीता मिजारमाथि चक्कु प्रहार भएको छ। सोमबार बिहान साढे ११ बजेतिर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले बागबजारस्थित पद्मकन्या क्याम्पसभित्रै नेतृ मिजारमाथि चक्कु प्रहार गरेका हुन्। मिजारको ओठमा ६ वटा टाँका लगाइएको छ। उनको प्रदर्शनी मार्गस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।
क्रान्तिकारीका बसन्त भण्डारीको नेतृत्वमा रहेका मीना मिजार, दर्शना नेपाली, गंगा दाहाल लगायतको टोलीले नेविसंघ नेतृ मिजारमाथि आक्रमण गरेको नेविसंघ सहमहामन्त्री एवं पद्मकन्या क्याम्पसकी नेविसंघ इकाई अध्यक्ष साधना घिमिरेले जानकारी दिइन्। उनले क्रान्तिकारीका नेताहरुले बाहिरबाट गुण्डाहरु क्याम्पसभित्र ल्याएर नेविसंघ नेतृमाथि आक्रमण गराएको दाबी गरिन्। नेतृ घिमिरेले वाल पेन्टिङको विषयलाई लिएर क्रान्तिकारीले मिजारमाथि चक्कु प्रहार भएको बताइन्।
स्ववियु निर्वाचन हुने भएपछि सुरु भएको प्रचार प्रसारका क्रममा अखिल क्रान्तिकारी र नेविसंघबीच भित्ते लेखनका विषयमा विवाद भएको थियो। क्याम्पस प्रशासनले ‘वाल पेन्टिङ’ नगर्न गरेको आग्रह विपरीत क्रान्तिकारीले वाल पेन्टिङ गरेपछि नेविसंघका नेतृहरु क्याम्पस प्रशासनलाई उक्त काम रोक्न दबाब दिन गएपछि दुई संगठनबीच विवाद सुरु भएको थियो।
यसअघि आइतबार क्रान्तिकारीका कार्यकर्ताहरुले शैक्षिक भ्रमण सकेर कलेजको होस्टल फर्किन लागेकी विद्यार्थी रन्जु कार्कीमाथि विनाकारण इट्टा प्रहार गरी घाइते बनाएका थिए। विद्यार्थी रन्जुको टाउँकोमा चोट लागेको छ। कार्कीमाथिको आक्रमण र ‘वाल पेन्टिङ’का विषयमा क्याम्पस प्रशासनसँग कुराकानी गर्न जाने क्रममा नेतृ मिजारमाथि आक्रमण भएको घिमिरेको भनाई छ।
उनले क्याम्पस हाताभित्र पद्मकन्या क्याम्पसका विद्यार्थीबाहेक अन्यलाई प्रवेश नदिन क्याम्पस प्रशासनसँग आग्रह गरेको बताइन्। नेविसंघ नेतृ घिमिरेले नेतृ मिजार र छात्रा कार्कीमाथि आक्रमण गर्नेहरुमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिइन्। क्रान्तिकारी सम्बद्ध कार्यकर्ताले आइतबार क्याम्पसको परीक्षा शाखामा पनि तोडफोड गरेका घिमिरेले बताइन्।
आइतबार परीक्षा शाखामा तोडफोड तथा छात्रा कार्कीमाथि इट्टा प्रहार गर्ने गंगा दाहाललाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। तर, प्रहरीले उनलाई हिजो नै रिहा गरेको थियो।
अन्नपूर्णपोस्ट

0 comments
प्रतिक्रिया दिनुहोस्...