काठमाडौँ : एकीकृत नेकपा (माओवादी) का अध्यक्ष
पुष्पकमल दाहाल (प्रचण्ड)ले केही दिनभित्रै अहिलेको
असहज अवस्थाबाट मुलुकले निकास पाउने बताएका छन्।
प्रचण्डले प्रमुख तीन राजनीतिक दलको
सहमतिमा नै तराई मधेसमा आन्दोलनरत दलसँग केही दिनभित्रै
निकास निकाल्ने प्रयत्नमा आफू लागिपरेको बताए।नेपाल राष्ट्रिय
कर्मचारी सङ्गठन, निजामतीको तेस्रो राष्ट्रिय
अधिवेशनलाई उद्घाटन गर्दै उनले तराई मधेसका दलले उठाएका
केही विषयलाई संविधान संशोधनमार्फत टुङ्गो लगाइने बताए।
लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा
जोड दिँदै अध्यक्ष दाहालले सोमबार प्रमुख तीन दल र
आन्दोलनरत पक्षबीचमा सघन वार्ता हुने उल्लेख गरे ।
केही विषयमा आवश्यक लचकता प्रदर्शन गरेर भए पनि तराई
मधेसको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने–
“समावेशी, समानुपातिक प्रतिनिधित्वलगायतका विषयमा तत्काल
सहमति गरेर जानुपर्छ । संविधान संशोधनमार्फत हल गर्नुपर्छ भन्नेमा
प्रमुख दल एक ठाउँमा आउनै पर्छ । त्यसको प्रयत्न भइरहेको छ ।”
गत वैशाख १२ गते भूकम्प गएपछि तत्कालीन सत्तारुढ दल
अकर्मण्यतामा फसेका बेला परम्परागत संसदीय
प्रणालीमा बसेर सत्तापक्ष र प्रतिपक्ष नभनीकन
राष्ट्रिय सङ्कट समाधान गर्न एमाओवादी जसरी
लागिपरेको थियो त्यसैगरी नाकाबन्दीविरुद्ध जुध्न र
आन्तरिक समस्यालाई हल गर्न आफू त्यसैगरी लागिपरेको र
केही दिनभित्रै सकारात्मक परिणाम आउने विश्वास उनले
व्यक्त गरे।
आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन नाकाबन्दीले
नेपाली जनता र नेतृत्वलाई राम्ररी पाठ सिकाएको
उल्लेख गर्दै उहाँले आन्तरिक समस्या हल गरेर आर्थिक समृद्धिको
मार्गमा अगाडि बढ्नुपर्ने स्पष्ट पारे। फरक एक प्रसङ्गमा अध्यक्ष
दाहालले एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ शक्तिको नाममा
भइरहेको गतिविधि गलत भएको बताए।
पार्टी बनाउन, नेतृत्व विकास गर्न सामान्य प्रक्रियाले नहुने
भन्दै उनले जनताको रगत र पसिनाबाट स्थापित भएको आफ्नो
पार्टी नै नयाँ शक्ति भएकाले विभिन्न नामधारी नयाँ
शक्तिको जरुरी नपर्ने ठोकुवा गरे।
उनले भने– “चार वर्ष पहिले पार्टी छाडेकाको स्वागत गर्न म
आतुर छु, भर्खरै पार्टी छाडेका पनि ढिलोचाँडो फेरि
यही पार्टीमा समाहित हुन्छन् ।” राष्ट्रिय
सङ्कटलाई समाधान गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुपर्ने
बेलामा पार्टीलाई नै कमजोर बनाउन लाग्ने प्रवृत्तिलाई जनताले
माफ नगर्ने उहाँको कथन थियो ।
उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर
रायमाझीले संविधानमा रहेका कमी
कमजोरीलाई सुधार गरेर जान आफ्नो पार्टी तयार
रहेको र त्यसको प्रयत्नसमेत भइरहेको बताए।
राष्ट्रलाई नै एकताबद्ध बनाएर लैजानुपर्ने समयमा पार्टीभित्रका
सबै असहमति र विवाद स्थगित गर्नुको साटो बखेडा झिकेर नयाँ शक्ति भन्दै
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हिँड्नु नेपाली
जनताका लागि धोका भएको उनको कथन थियो ।
अन्तर्राष्ट्रिय पारवहन अधिकार विपरीत गएर भारतले नेपालमा
नाकाबन्दी गरेको उल्लेख गर्दै एमाओवादीका
सचिवसमेत रहनुभएका रायमाझीले नयाँ संविधानलाई कार्यान्वयन
गर्ने महत्वपूर्ण समयमा मुलुकको समस्या समाधान गर्न छोडेर बहकिएर
हिँड्नु गलत भएको बताए।
सो अवसरमा सामान्य प्रशासन मन्त्री रेखा शर्माले
संविधानसभाबाट संविधान घोषणा भएर राजनीतिक सङ्क्रमणको
अन्त्य भएपनि प्रशासनिक क्षेत्रमा सङ्क्रमणकाल सुरु भएको भन्दै
यसलाई सबैको सहयोगमा पार लगाउने विश्वास व्यक्त गरे ।
दुर्गम क्षेत्रमा कर्मचारी नबस्ने प्रवृत्ति कायम रहेको भन्दै
उनले सुगम र सहज ठाउँमा काजको भरमा काम गर्ने र मुलुक नै काजमा
चलाउने मानसिकता बदल्न आफू लागिपरेको उल्लेख गरे।
राष्ट्रसेवक कर्मचारी जनताको बन्न नसकेको गुनासो गर्दै उनले
राजनीतिक परिवर्तनको मूल्य र मान्यताअनुसार अगाडि बढ्न
निजामती प्रशासनलाई आग्रह गरे। कार्यक्रममा विभिन्न
निजामती सङ्घ तथा सङ्गठनका प्रतिनिधिले सम्मेलनको
सफलताको शुभकामना दिएका थिए । सम्मेलन सोमबारसम्म चल्नेछ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...