-->
समाचार भद्रगोल विमानस्थल

मंसिर १४, २०७२- कुख्यात अपराधी चाल्र्स
शोभराजले ‘हात्ती छिराइदिन सक्ने’ भनेको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा
खटीएको प्रहरीले नै पासको दुरुपयोग गर्ने गरेको
अध्ययनले भेटाएको छ ।
विमानस्थलको व्यवस्थापन छवि सुधार्न संस्कृति
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको
एउटा कार्यदलले सोमबार प्रतिवेदन सार्वजनिक
गर्दै त्यहाँ खटिएको नेपाल प्रहरीले जाँचपास चुस्न
नभएको औंल्याउँदै पासको दुरुपयोग पनि प्रहरीले नै
गरिरहेको प्रतिवेदनले भनेको छ ।
कार्यदलका संयोजक हरिबहादुर खड्काले
विमानस्थलमा प्रतिवेदन सार्वजनिक गर्दै यात्रु र
ब्यागेज जाँच्ने सुरक्षाकर्मीहरुमा अनुशासनको
कमी रहेको बताए । डीआईजीले कमान्ड गर्ने
विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ्ग–वे
एरियामै बिना पास असम्वन्धित व्यक्तिहरु सहजै
जाने गरेको मन्त्रालयका उपसचिव समेत रहेका
संयोजक खड्काले बताए ।
पर्यटनमन्त्री आनन्द पोखरेल, सचिव दिनेशकुमार
थपलियासहित सहभागी कार्यक्रममा कार्यदलले
विमानस्थल पास बोकेका अनावश्यक व्यक्तिहरु
पनि ‘एयरसाइड’ मा पुग्ने गरेको बतायो ।
नागरिक उडड्यन प्राधिकरणमातहतको
विमानस्थलले त्यहाँ काम गर्ने एजेन्सीहरुलाई
संयोजन गर्ने भनिएपनि प्रहरीले नै पास दुरुपयोग गर्ने
गरेको विमानस्थल व्यवस्थापनले कार्यदललाई
गुनासो गरेको छ ।
केही दिनअघि नेपाल आएका फुटबलर डेभिड
बेकह्यामको बिदाइमा त्यहाँको प्रहरीले कसैलाई
पनि पास नदिन भनेको थियो । तर, त्यही दिन
विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजय
कायस्थले फुटबलरसँग फोटो खिचाउन प्रहरी
आईजीपी उपेन्द्रकान्त अर्यालकी छोरी र आफ्ना
छोरालाई भीआईपी एरियामै पुर्याएका थिए ।
‘पास दूरुपयोगको यो भन्दा ठूलो उदाहरण के हुन
सक्छ ? संविधानले पुलिसका छोराछोरीलाई छुट
भनेको त छैन्,’ विमानस्थलका एक अधिकृतले भने ।
प्रतिवेदनले विमानस्थलको पास व्यवस्थापन
नागरिक उडड्यन प्राधिकरणको जिम्मेवारी
भएपनि प्रहरीले समन्वय नगरेका कारण भिजिटर
पास वितरणमा समस्या हुने गरेको उल्लेख गरेको छ ।
‘डोमस्टिक विमानस्थलमा विरामी बुढाबुढीले
पास नपाइरहेको देखियो तर अनावश्यक व्यक्ति
पास लगाई भित्रै घुमिरहेका देखीन्छन्,’ ६ सदस्यीय
कार्यदलका संयोजक खड्काले भने ।
प्रतिवेदनले आइरन गेटमा पनि सुरक्षा जाँचमा
फितलो हुने गरेको भनेको छ । ‘आइरन गेट प्रयोग गर्ने
व्यक्ति र संस्थाहरुको यथार्थ विवरण राख्ने र
सुरक्षा जाँच नगरेको देखीयो,’ प्रतिवेदनमा
भनिएको छ । त्यसैगरी नेपाल वायुसेवा निगमको
ह्यांगर लगायतमा आवतजावत गर्ने व्यक्ति तथा अन्य
निकायका नियमित ड्युटीमा खटिने बाहेकका
कर्मचारी तथा सरोकारवालाहरुको सम्वन्धित
निकायले रेकर्ड पनि राख्ने नगरेको पाइएको छ ।
प्रतिवेदनले भन्सार र अध्यागनका कर्मचारी
पोसाकमा नहुने, यात्रुसँग रुखो व्यवहार गर्ने,
भिडभाडको समयमा ब्यागेजको ट्याग जाच नै नहुने,
जनशक्ति पर्याप्त मात्रामा उपलव्ध नभएका कारण
कतिपय यात्रुले चार घन्टासम्म कुर्नुपर्ने अवस्था
रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय
उडानहरूले लगेज नल्याइदिने, समयमा उचित
जानकारी नदिने, लगेजको पर्खाइमा काठमाडौं र
बाहिरका यात्रुहरुले हप्तौं दु:ख पाउनुपर्ने अवस्था
अहिले पनि रहेको उल्लेख गरिएको छ । त्यसै गरी
विमानस्थलको सरसफाई, होर्डिङ्ग बोर्ड,
विज्ञान, क्यान्टीनको ठेक्का बर्षौदेखी
सञ्चालन गरिरहेका सोनिगा सर्भिसका सुवाष
श्रेष्ठले ध्यान दिन नसकेको पनि औल्याइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.