फोटो : काभ्रेको सखुपार्टीचौर गाविसमा एक किसानको बगैंचामा
फलेको सुन्तला।तस्बिर: श्रीराम केसी
इन्धन नहुँदा बोटमै रहे सुन्तला
श्रीराम केसी
|
काभ्रे: भारतले विगत दुई महिनादेखि लगाएको नाकाबन्दीले इन्धन
संकट भएसँगै यहाँका किसानको बगैंचामा फलेको सुन्तला बिक्री
हुन सकेको छैन।
सुन्तला बिक्री नहुँदा किसान समस्यामा पर्न थालेका छन्।
सुन्तला खेतीबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने
किसान यसपालि सुन्तला बिक्री नहुँदा समस्यामा परेका हुन्।
उनीहरूले व्यावसायिक सुन्तला खेती गरेरै घरपरिवार
र व्यवहार चलाउँदै आएका थिए।
नाकाबन्दीले व्यापरी नआएको र फाटफुट आउनेले
पनि आधा मूल्य पनि दिन आनाकानी गरेको
सखुपार्टीचौर गाविस ४ का किसान रामजी हुमागाईं
बताउँछन्। ‘पोहोर यो सिजनमा सयौं व्यापारी बगैंचामा मोलमोलाइ
गर्न आउँथे तर यो पालि कोही आएका छैनन्', उनले थपे,
'सुन्तला बोटमै कुहिएला भन्ने चिन्ता लागिसक्यो, न सुन्तलाको मूल्य आउँछ
न व्यापारी नै, अघिल्लो वर्ष यो समयमा बेचिसकिन्थ्यो, यसपालि
बोटमै छ।'
हुमागाईंले २५ रोपनी जग्गामा सुन्तला खेती गरेका
छन्। उनले यसबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्थे। गत
वर्षसम्म बगैंचाबाटै सुन्तला लैजाने व्यापारी पनि यो वर्ष इन्धन
र बजारको अभाव भएकाले नआएका हुन्। ढुवानी समस्याकै
कारण किसानको बगैंचाबाट सुन्तला किन्न नसकेको संखुका सुन्तला
व्यापारी विकास खत्री बताउँछन्।
'गत वर्ष यही समयमा मैले ७० लाखको सुन्तलाको कारोबार
गरेको थिएँ, यसपालि भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले
कारोबारै गर्न सकेको छैन।' अन्य जिल्लाको तुलनामा काभ्रेको सुन्तला मिठो र
स्वादिलो हुने भएकाले उपत्यकासहित तराईका जिल्लाबाट माग आउने गरेको
खत्रीले बताए।
अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादन बढ्ने अनुमान जिल्ला कृषि
विकास कार्यालयले गरेको छ। इन्धन अभावले ढुवानी र बजार
नपाउँदा किसान समस्यामा परेको जिल्ला कृषि विकास कार्यालयका
बागबानी विकास अधिकृत सूर्यबहादुर थापा बताउँछन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...