आधुनिक अर्थशास्त्रका जन्मदाता अठारौँ शताब्दीका
अर्थशास्त्री एडम स्मिथदेखि समसामयिक विश्वका
जेफ्री स्याक्स र नोबेल पुरस्कारबाट समेत सम्मानित
जोजेफ स्टिगलिट्ज जस्ता सम्मानित अर्थशास्त्रीहरूले
स्विकारेका छन्-प्राकृतिक साधन र स्रोतसम्पन्न धेरै
मुलुकहरू आर्थिक विकासमा निकै पछाडि पर्ने गरेका छन् ।
त्यति मात्र होइन, ती साधन र स्रोत ती मुलुकका लागि
पीडा र श्राप बन्न पुगेका छन्।
सुरुदेखि नै सफलताका साथ आफ्ना प्राकृतिक सम्पदालाई
विवेकपूर्ण तरिकाले दोहन र उपयोग गर्दै आएका
अफ्रिकाका बोत्सबाना, सेनेगल, घाना, तान्जानिया
तथा जातीय युद्ध, लुट, भ्रष्टाचार र कुशासनको पर्याय
बनेका रुवान्डा, इथियोपिया, सियरालिओन र इरिट्रिया
मुलुकहरू पनि तिनै स्रोतको बुद्धिमत्तापूर्ण प्रयोगका
कारण हाल आएर विश्वका सफल राष्ट्रको हैसियतमा
आइसकेका छन्। तैपनि अधिकांश अफ्रिकी, दक्षिणी
अमेरिकी र नेपालजस्ता मुलुकहरूका लागि प्राकृतिक स्रोत
अभिशाप बनिरहेको छ।
स्टिगलिट्जका अनुसार त्यस्ता स्रोतसम्पन्न मुलुकका
शासकहरू राष्ट्रको आर्थिक वृद्धिसम्बन्धी रणनीति
विकास गर्ने तथा प्राकृतिक सम्पदामाथि उत्पादक
लगानी गर्ने क्षमता साबित गर्न त सकिरहेका छैनन्, तर
मुलुकभित्र वा बाहिरका व्यापारिक स्वार्थ समूहसँग
मिलेर व्यक्तिगत लाभको उद्देश्यले वा भ्रष्टाचारको
आशयले तिनको क्रूर दोहन र शोषण गर्ने कार्य भने
गरिरहेका छन्।
नेपालको जलस्रोत, जडिबुटी, अन्य वनस्पति, काठपात,
ढुंगा, बालुवाका लागि नेपाल र भारतका भ्रष्ट
व्यावसायिक र राजनीतिक व्यक्तिहरूबीचको आपराधिक
स्वार्थ सम्बन्ध जगजाहेर छ । त्यतिले नपुगेर संघीय नेपालको
सीमा निर्धारणको सबाललाई लिएर नेपालको मधेस
राजनीतिदेखि भारतका विभिन्न स्वार्थ समूह र स्वयम्
भारत सरकारको नीति र व्यवहारलाई मिहिन ढंगले केलाउने
हो भने माथि उल्लिखित सन्दर्भ अझ प्रस्टिन आउँछ।
पल कलियरले आफ्नो विश्वविख्यात पुस्तक बटम
बिलियनमा नेपाललगायत संसारका अत्यन्त गरिब ५८ मुलुक
चार किसिमका पासोको सिकार भएको उल्लेख गरेका
छन्। ती चार पासोमा द्वन्द्व, प्राकृतिक स्रोत, भू-
परिवेष्ठितता तथा खराब छिमेकी र कुशासन रहेका छन् ।
भनिरहनुपरेन, नेपाल यी चारैवटा पासोबाट उत्तिकै पीडित
छ।
डेनियल लेडरमन र विलियम मलोनीद्वारा सम्पादित तथा
स्ट्यानफोर्ड विश्वविद्यालय र विश्वबैंकद्वारा संयुक्त
रूपमा प्रकाशित एक पुस्तकमा उल्लेख भएअनुसार १९६० देखि
संसारका धेरै प्राकृतिक स्रोतसमृद्ध मुलुकहरू स्रोतविपन्न
मुलुकभन्दा विकासमा पछि परेका छन्।
प्राकृतिक सम्पदा त्यस्ता मुलुकहरूका पुँजी, शक्ति र
सामथ्र्य नभएर भार र बोझ बनेका छन्। आन्तरिक द्वन्द्व र
युद्धको कारण बनेका छन्। सरकार र मुलुकको राजनीतिक
नेतृत्वले बिना परि श्रम त्यस्ता प्राकृतिक सम्पदाबाट
सजिलै आफ्ना लागि अथाह व्यक्तिगत आर्जन गर्नसक्ने र
जनता पनि तिनका भरमा जिनतिन निर्वाह गर्न तथा
त्यस्तो सीमित निर्वाहमुखी स्रोतकै लोभ र मायाले अन्य
उन्नत विकल्पमा प्रवेश गर्न अनिच्छुक हुने हुँदा उक्त स्थिति
लुटाहा शासकहरूका लागि वरदान बनिदिन्छ।
जब जनतासँग आशा हुँदैन, आफ्ना प्राकृतिक साधन र
स्रोतसँग जोडिएका र तिनको दिगो विकाससँग उनिएका
उन्नत सपना हुँदैनन् र आफ्ना सपना र आशाको लागि
राज्यलाई शक्तिशाली दबाब दिन सक्दैनन्, सरकार
चुनौतीविहीन हुन्छ । अनि देश एकपछि अर्को अक्षम र
भ्रष्ट राजनीतिक नेतृत्वको बोझमुनि थिचिँदै जान्छ।
त्यसमाथि जातीय भावना भड्काएर, आन्तरिक द्वन्द्व र
विवाद मच्चाएर, आफ्ना अभाव र अक्षमता लुकाउन
सजिलो हुने र राज्य सम्पत्ति र प्राकृतिक साधन र
स्रोतमाथि लुट मच्चाउन सजिलो हुने भएकाले सरकार र
राजनीतिक नेतृत्वहरूकै रुचि र हितको कारणले पनि त्यस्ता
देशहरू उठ्न सकिरहेका छैनन्।
तस्बिरको अर्को पाटो पनि छ-उपलब्ध प्राकृतिक
सम्पदालाई अत्यन्त सिर्जनशील र बुद्धिमत्तापूर्ण ढंगले
प्रयोग गर्न सफल राष्ट्रहरू संयुक्त राज्य अमेरिका,
अस्ट्रेलिया, क्यानडा र नर्वे, स्विडेन, डेनमार्क,
फिनल्यान्ड बन्न सक्छन्।
मननीय छ-बीसौँ शताब्दी प्रारम्भ हुनुअघि दक्षिण
अमेरिकाका पेरू, चिली, अर्जेन्टिना जस्ता मुलुकहरू संयुक्त
राज्य अमेरिकाभन्दा सम्पन्न, समृद्ध र शक्तिशाली थिए।
भेनेजुएला साउदी अरबको भन्दा ठूलो तेल भण्डारको
स्वामी छ, तर त्यहाँका ५० प्रतिशत जनता गरिबीको
रेखामुनि छन्। स्पष्ट छ-कारण शासनको चरित्र हो।
नेपालको जल-भूगोल र 'पावर सिल्करोड'
नेपालभन्दा भारत क्षेत्रफलमा २२ गुणा र जनसंख्यामा ४४
गुणा ठूलो छ, तर स्वच्छ पानीको भण्डारको हकमा
नेपालभन्दा भारत दुई गुणा पनि ठूलो छैन। विश्वको कुल
स्वच्छ पानीको भण्डारमध्ये नेपालसँग २.२७ प्रतिशत छ
जबकि भारतसँग चार प्रतिशत मात्रै । पानीको यो
स्थिति भविष्यमा भारतको एकता, सुरक्षा र समृद्धिको
लागि सबैभन्दा ठूलो चुनौती बन्दै छ।
नेपालका कुल ४५ हजार किलोमिटर लम्बाइका ६ हजार
नदी र खोलाहरूबाट बग्ने पानीबाट उत्पादन हुने विद्युत्को
परिमाण ४२ हजार मेगावाट बताइन्छ, तर समग्र विद्युत्
क्षमताको राम्रो प्राविधिक अध्ययन गर्ने हो भने त्यो
डेढ लाख मेगावाटभन्दा बढी हुने विज्ञहरूको निष्कर्ष छ।
चीन समग्र संसारको जनसंख्याको ५० प्रतिशत जनता बस्ने
दक्षिण र दक्षिणपूर्व एसियाको जल-भूगोलको एकछत्र
स्वामी हो। उत्तर र दक्षिणी ध्रुवपछि संसारको सबैभन्दा
ठूलो स्वच्छ पानीको भण्डार तिब्बत हो। दक्षिण
एसियाका सिन्धु र ब्रह्मपुत्र नदीको मुहान तिब्बत हो।

0 comments
प्रतिक्रिया दिनुहोस्...