-->
रसुवागढी नाकामा व्यापारी र कन्टेनर चालक अलपत्र

मंसिर १५, २०७२- चीनले एकदिने अस्थायी पास
(वान डे पास) नदिएपछि व्यापारी र कन्टेनर
व्यवसायी रसुवागढी नाकामा अलपत्र परेका छन् ।
नाकामा छ सयभन्दा बढी कन्टेनर र व्यापारी एवं
चालक गरी १ हजार जना अलपत्र परेका हुन् । स्थान
अभावले स्याफ्रुदेखि नाकासम्म सडक किनारमै
कन्टेनरहरू राखिएका छन् ।

‘साहुले सामान लिन जाऊ भनेर आइयो,’ नुवाकोट
बेलकोटका कन्टेनर चालक पुष्कर रेग्मीले भने, ‘यहाँ
आउँदा वान डे पासले नपाउँदा चीनतर्फ जान
सकिएन ।’

‘वान डे पास’ पाइने आसमा सातादेखि सीमामै
बसिरहेको व्यापारी धर्मलाल श्रेष्ठले बताए ।
नेपाली व्यापारीले आयात गरेका हजार वटा
गाडीजति सामान चीनको केरुङमा छ ।
त्यहाँ जान रसुवागढीबाट २२ किलोमिटरको
यात्रा गर्नुपर्छ । चिनियाँ अध्यागमन अधिकारीले
माथिल्लो निकायबाट स्वीकृति नदिएसम्म ‘वान
डे पास’ जारी नगर्ने जनाएका छन् ।
‘सामान आएको छ, लिन जान सकिएको छैन, अरूको
भर पर्नुपरेको छ,’ व्यापारी भन्छन् । चीनले सीमा
नाका प्रवेश रेसुओ पोर्टमा व्यापारी र तीनका
चालक र सहचालकलाई रोकेका छन् ।
स्थायी पास लिएका रसुवावासी चालकलाई
व्यापारीले ७ देखि २० हजार रुपैयाँ रकम र कन्टेनर
दिएर चीनको केरुङ पठाई सामान रसुवागढी झार्न
बाध्य छन् । आइतबार मात्रै तयारी सामान र स्याउ
गरी ७० वटा कन्टेनरले सामान चीनको केरुङबाट
ल्याएको रसुवा भन्सार कार्यालयका सुब्बा
रामचन्द्र तिमिल्सिनाले बताए ।

वान डे पास दिएमा भन्सार राजस्व वृद्धि हुने उनले
जनाए । सामान नियमित आएको खण्डमा दैनिक
१८/२० लाख रुपैयाँ राजस्व उठ्ने गरेको छ ।
व्यापारी र चालकलाई चीनले पास नदिँदा समस्या
भएको उनले बताए । भूकम्पछि रसुवा भन्सारबाट
निकासी प्राय: ठप्पै छ । व्यापारी र कन्टेनर
व्यावसायीले पास खुलाउन सरकारले चीनसँग
कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।
यता नेपालतर्फ ‘वान डे पास’ का लागि अध्यागमन
कार्यालयले स्वीकृति दिइरहेको छ । ‘हामीले
दिएका छौं,’ अध्यागमन प्रमुख ओमप्रसाद
पाण्डेलेको भने, ‘चीनले नै रेसुओ पोर्ट अध्यागमनले
स्वीकृति नदिएर मान्छे फकाइदिने गर्छ ।’
अध्यागमन कार्यालयमा चिनियाँहरू डिपाचर र
एराइभल गरी दैनिक ३५ देखि ४० जना आइरहेका छन्

उनीहरू १५, ३० र ४५ दिने भिसा लिएर नेपाल प्रवेश
गरिरहेको अध्यागमन प्रमुख पाण्डेले बताए । चीनले
आफ्नो सीमा जोडिएको १५ जिल्लालाई मात्र
स्थायी पास दिएको छ ।
फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
यो कमेन्ट स्पाम होइन छुट्याउनका लागि तल
देखिएका अक्षर भर्नुहोस्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.