अत्तालिएर म पलङमुनि लुक्न गएँ। एकै छिनमा सडकमा उभिएर
मान्छेहरूले कोलाहल मच्याउन थालिहाले। त्यसबेला मेरी आमा
पसलमा खाजाको सामग्री किन्न जानुभएको थियो, बुबा चाहिँ
अफिसबाट पिकनिकमा।
हाम्रो घर झन् जोडजोडले
हल्लिन थाल्यो । भूकम्प
आएको ठम्याउन मलाई खासै
गाह्रो परेन किनकि
भूकम्पसम्बन्धी
विभिन्न कार्यक्रम विद्यालयमा
देखेको थिएँ मैले, अझ
टेलिभिजनमा पनि। भूकम्प
आउँदा अपनाउनुपर्ने तरिका पनि
मैले सिकेको थिएँ।
ती तरिकालाई नडराई
मन दह्रो पारेर प्रयोग गर्न थालेँ। केही बेरपछि घर हल्लन
छाड्यो। म पनि बाँचेँ। अनि स्याँ स्याँ गर्दै म तल सडकमा गएँ। आमा रुन्चे
मुख लगाएर घरतिर आउँदै हुनुहुन्थ्यो। आमाले मलाई देख्नुभयो अनि
कुद्दै मतिर आएर जोडले मलाई अँगालेर खुसीले रुनुभयो। म पनि
रोएछु आमाको छातीमा टाँसिएर।
मैले यताउति हेरेँ। वरिपरिका केही घरहरू भत्किसकेका थिएँ ।
भत्किएका घरभित्रबाट मान्छेहरू रोइरोई सहयोग मागिरहेका थिए । सहयोग
गर्ने कोही देखिएनन् त्यहाँ। सबैलाई भूकम्पको डर थियो।
हाम्रै घर छेउको एउटा पुरानो घरको कोठाभित्र सानो बच्चा रोइरहेको निकै
बेरसम्म सुनेँ । अनि मैले आमालाई भने, ‘आमा ! त्यहाँ सानो बच्चा रोइरहेको
छ, हिँड्नुस् न त्यसलाई निकाल्न !
'
'भुइँचालो गइरहेको छ ! त्यहाँ जानु पर्दैन ! ठूला मान्छेहरूले निकाल्छन्,
तिम्रो काम होइन !' अत्तालिएर डराएको स्वरमा निस्किएको आमाको जवाफ
थियो यो।तैपनि मेरो मन मानेन । म त्यो घरतिर जान लागेँ।
आमाले रोक्दारोक्दै जबर्जस्ती म त्यो घरमा गएँ । घरको
गेटभित्र छिर्नेबित्तिकै मैले देखेँ कि पर्खाल लडेर एउटी
स्त्रीको शरीरलाई इँटाहरूले खुट्टासम्मै घुम्टो
हालेको। सायद उनी माथि रोइरहेको बच्चाको आमा हुनुपर्छ।
बडो सावधानीका साथ म माथि तलामा गएँ।
कोठाको भित्ताहरू आधाभन्दा बढी भत्किसकेको रहेछ। करिब
तीन महिना जतिको बच्ची कोक्रोमा
चिच्याइरहेकी मैले देखेँ । हतारहतार गर्दै थाङ्नासहित
बच्चीलाई टिपेर तल झर्दै थिएँ । फेरि घर हल्लियो। म
बच्चीसँगै भुइँमा पछारिएँ।
खसिरहेका दुईचारवटा इँटाले मेरो गोडामा लाग्यो। दुखे पनि रोइनँ । हत्त न
पत्त मैले बच्चीलाई हेरेँ । बच्ची मेरो
छातीमा मुख जोतेर रुन थालिछ । शरीरमा
बच्चीलाई खासै केही भएनछ। त्यसपछि त
खुसीले मुस्कुराएँ म।
'हेर्नुस् त आमा ! मैले बहिनी ल्याएँ । कति राम्री
मेरी बहिनी !' त्यो सानी
बच्चीलाई आमाको अघि खेलाउन थालेँ।मैले ज्यान जोखिममा राखेर
एउटी बच्चीको उद्धार गरेकाले आमाको अनुहारमा
जून उदायो।
आमाले बच्चीलाई हेर्न खोज्नुभयो। उहाँलाई
बच्ची दिएँ अनि यताउति हेर्दै आफूले सकेको सहयोग अरू
भूकम्पपीडितलाई गर्न थालेँ । आफूले नसकेको अवस्थामा फोन
गरेर प्रहरीहरूलाई बोलाइदिएँ।
बुबासँग फोनमा सम्पर्क हुन सकेन। मनमा डरले ढ्याङ्ग्रो ठोकिरहेको थियो
। अकस्मात् साँझ पर्नु अघि नै धुलाम्मे अवस्थामा बुबा घर आउनुभयो।
खुसीले आमाबुबाको काँधमा झुन्डिनुभयो, म उहाँको पिठ्यूँमा
चढेछु।
बेलुका वरपरका छरछिमेकीसँग मिलेर हामीले
बस्नको लागि पालको व्यवस्था ग्र्यौं । बच्चीलाई प्रायः मैले नै
बोकिरहेँ फकाई फकाई।भूकम्प गएको पाँचौं दिनपछि हामीलाई
थाहा भयो कि बच्चीका सबैजसो आफन्तहरू भुइँचालोमा
परी यमराजको अदालतमा पुगेछन्।
बच्चीलाई लिन कोही आएनन् निकै दिनसम्म ।
मलाई चाहिँ ज्यादै रमाइलो लागिरहेको थियो भेट्टयाएको बच्चीलाई
पालनपोषण गर्न पाउँदा । उनको मलाई निकै माया लाग्न पनि थालेको थियो।
मैले आमाबुबालाई फकाएँ र बच्चीलाई बचाउन अनुरोध
गरेँ। केही बेर मेरो कुराको विरोध गर्नुभयो उहाँहरुले।
तैपनि मेरो जिद्दीले जितिदियो उहाँहरुको विरोधलाई।
आमाले बच्चीलाई नजिकैको प्रहरी कार्यालयमा
लगेर बुझाइदिने कुरा मसँग गर्नुभयो । मलाई रिस उठ्यो । मैले आमाबुबालाई
फकाएँ र बच्चीलाई धर्मबहिनी बनाउन अनुरोध गरेँ
। केही बेर मेरो कुराको विरोध गर्नुभयो उहाँहरूले । तैपनि मेरो
जिद्दीले जितिदियो उहाँहरूको विरोधलाई।
उनको नाम के थियो कुन्नि ? आमाबुबाले चाहिँ उपहार राख्ने सल्लाह
गर्नुभयो। म मानिनँ अनि उनको न्वारन पनि मैले नै गरिदिएँ भूकम्पा भनेर ।
अचेल म उनको अप्राकृतिक धाईआमा बनेको छु।
मेरा आफन्तहरू बेलाबेलामा भूकम्पले कति क्षति गर्यो भन्ने बुझ्न मेरो घर
आउँछन् । कोक्रोमा सानी बच्ची देखेपछि आश्चर्य
मान्दै मेरी आमालाई उनीहरू सोध्छन्, ‘यो
बच्ची को हो ?'
'मेरी बहिनी !' आमालाई उछिनेर म जवाफ
दिइहाल्छु।
उनीहरू मलाई क्वारक्वार्ती हेर्छन्। म
मुस्कुराउँदै कोक्रोमा सुतिरहेकी भूकम्पालाई उठाएर
छातीमा टाँस्छु अनि गीत गुनगुनाउन थाल्छु 'फूल
राम्रो लालीगुराँस अनि चम्पा उनी मेरी
बहिनी भूकम्पा !'

0 comments
प्रतिक्रिया दिनुहोस्...